अमेरिकी निर्वाचनमा तीन नेपाली उम्मेदवार

कार्तिक १५
अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको संसदीय निर्वाचनमा तीन नेपाली मूलका उम्मेदवार मैदानमा छन् । ह्यारी भण्डारी मेरिल्याण्डको डिस्ट्रिक आठ बाट हाउस अफ डेलिगेटसमा डेमोक्र्याट पार्टीकोतर्फबाट उम्मेदवार हुन् ।

भण्डारी गत जुनमा सम्पन्न आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर विजयी भएका थिए । सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेटसमा निर्वाचित हुन्छन् । डेमोक्र्याट पार्टीको राम्रो पकड भएको क्षेत्र मानिएपनि निकै जागरुक मतदाता भएको स्थल स्विङ डिष्ट्रिकका रुपमा मेरिल्याण्डको डिस्ट्रिक आठ चिनिन्छ । त्यसैले कुन उम्मेदवारले जित्छ पूर्वानुमान नसकिने बिष्लेषकहरु बताउछन् । झण्डै ८० हजार मतदाता रहेको सो डिस्ट्रिकमा भण्डारी अन्तिम प्रचारप्रसार स्वरुप मतदातासँग भोट माग्न ब्यस्त छन् ।

त्यस्तै अमेरिकाको न्यू ह्याम्पसायरबाट मदलसा गुरुङले उम्मेदवारी दिएकी छिन् । गुरुङले न्यूहयाम्सायरबाट डेमोक्र्याट पार्टीकोतर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिएकी हुन् । तर गुरुङले उम्मेदवारी दिएको क्षेत्रमा बिपक्षी पार्टीको बाहुल्यता छ

अर्का नेपाली मुलका प्रदीप ढकालले स्थानीयस्तरको एकाइको पदका लागि उम्मेदवारी दिएका छन् । उनले उम्मेदवारी दिएको पदमा ६ का लागि १० जनाको उम्मेदवारी परेको छ । पाँच जना यसअघि निर्वाचित भइसकेका काउन्सिल सदस्य रहेकाले उनी उम्मेदवारमा मात्रै सिमित हुने अबस्था छ ।

अमेरिकी निर्वाचनमा होमिएका यी तीन मध्ये भण्डारीको संभावना भने प्रबल रहेको बताइन्छ । उनले जितेमा नेपालीलाई अमेरिकी राजनीतिमा समाहित गराउने ढोका खुल्ला हुनेछ । भण्डारी मतदाता माझमा पनि लोकप्रिय ब्यक्ति भएकाले मुख्य प्रतिश्पर्धीका रुपमा उनलाई हेरिएको हो ।

नोभेम्बर ६ का दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस , विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ ।

स्रोत पिसपोखरा