प्रकाशप्रति मेरो प्रेम बगिरहेको छ, बिहे कल्पना बाहिरको कुरा होः सृजना त्रिपाठी

प्रकाश दाहालको निधनपछि सृजनाले बिताएको एक वर्ष

पोखरा मंसिर ३
केही हतार, केही निरास। अधुरा सपनाहरुको चाङमा कहीँ कतै अल्झिएजस्तो। आशाका किरणहरु छोप्न प्रयासरत पाइलाहरु। अनुहारमा खुशीका रंगहरु कतै हराएजस्तो। मंसिर १ गते बिहान पोखराको एयरपोर्टमा भेटिइन् सृजना त्रिपाठी। ‘आज छोरा प्रसिद्धको जन्मदिन, छोरा काठमाडौँमै छ, उतै जान लागेकी हुँ,’ सृजनाले हतारोको कारण खुलाउँदै भनिन्।

एक वर्षअघि मंसिर–१ मा प्रसिद्धका बुबा प्रकाश दाहाल जीवितै थिए। प्रसिद्ध आफ्ना पिताको सामीप्यमा थियो। यो वर्ष जन्मदिनमा प्रसिद्ध बाबाको न्यानो काखबाट बञ्चित छन्। मंसिर ३ गते एक वर्ष हुँदैछ। सृजनाले श्रीमान् प्रकाश गुमाएको र छोरा प्रसिद्धले बुबा गुमाएको।

सृजनाले भनिन्, ‘मैले श्रीमान् गुमाएँ, छोराले बुबा गुमायो, आज छोराको जन्मदिन प्रकाशलाई निकै सम्झेकी छु, जब छोराको अनुहार देख्छु, प्रकाश अगाडि भएकोजस्तै लाग्छ,’ उनले विगत सम्झिइन्, ‘छोरा जन्मिँदा प्रकाश निकै खुशी भएका थिए, आफ्नो अनुहार नै छोरामा भेटेपछि उनी दंग थिए।’

कसरी जोडियो सृजनाको सम्बन्ध प्रकाशसँग

सृजनाको सम्पूर्ण परिवार बर्दिया बस्थ्यो। माओवादीको जनयुद्ध निकै चर्किएको थियो। सृजनाका बुबा देवकृष्ण त्रिपाठी पनि राजनीतिमा सक्रिय थिए। माओवादी पार्टीलाई सहयोग गरेको आरोपमा एकदिन देवकृष्णलाई पक्राउ गर्ने वारेन्ट आएको गोप्य सूचना प्रहरीमार्फत सृजनाको परिवारले थाहा पाए। त्यँहा बस्न असुरक्षित ठानेर सपरिवार कास्कीको पुख्यौली थलो हेम्जा आए २०५९ सालतिर।

प्रकाश एक्लै सृजनालाई भेट्न आउने निधो गरे। नभन्दै एक–दुई दिनपछि प्रकाश पोखरा लेकसाइडमा आएर सृजनालाई भेटे। पहिलो भेटमा प्रकाशलाई देख्दा बित्तिकै राम्रो लागेको थियो। ‘झट्ट हेर्दा मन पर्यो। खुलेर बोल्ने बानीले पनि झनै लोभियो,’ उनी भन्छिन्।

त्यतिबेला सृजना कक्षा ७ मा पढ्दै थिइन्। विस्तारै द्वन्द्वले निकास खोजिरहेको थियो। शान्ति सम्झौता भयो। वातावरण सहज हुँदै थियो। वि.सं. २०६४ सालको मंसिर १५ गते १२ कक्षा उत्तीर्ण साथीहरु पिकनिक जाने तयारीमा जुटेका थिए।

‘त्यति नै बेला सृजनाका बुबाले आज घरमा मान्छे आउँदैछन्, छोरी तिमी कतै नजाऊ भन्नु भयो,’ सृजनाले भनिन्, ‘को आउने, किन आउने भन्ने केही थाहा थिएन, बिहान ७ः३० बजेको समयमा ४–५ जना उस्तै–उस्तै उमेर समूहका युवाहरु आए, मैलेले चिया पकाएर खान दिएँ, एकछिन बसे, बुबा, आमा र मामासँग केही कुराकानी गरेर गए, दिउँसो म पिकनिक गएँ।’

कक्षा–१२ पास गरेपछि सृजनालाई बुबाले मोवाइल किनिदिएका थिए। भोलिपल्ट उनको मोवाइलमा कल आयो। उनले ‘को हो’ भनेर सोधिन्। जवाफमा ‘हिजो तिमीलाई भेट्न आएको मान्छे’ भन्ने जवाफ आयो। उनले सबै उस्तै देखेकाले ठम्याउन नसकेको जवाफ दिइन्। प्रकाश एक्लै सृजनालाई भेट्न आउने निधो गरे। नभन्दै एक–दुई दिनपछि प्रकाश पोखरा लेकसाइडमा आएर सृजनालाई भेटे। पहिलो भेटमा प्रकाशलाई देख्दा बित्तिकै राम्रो लागेको थियो। ‘झट्ट हेर्दा मन पर्यो। खुलेर बोल्ने बानीले पनि झनै लोभियो,’ उनी भन्छिन्।

बुबा प्रचण्डको राजनीतिलाई सफल बनाउन कतिपय अवस्थामा आफू परिवारबाट टाढा हुनु परेको निजी जीवनमा ध्यान दिन नपाएको कुरा पनि प्रकाशले सृजनालाई सुनाएछन्। प्रकाशको पहिलो वैवाहिक सम्बन्ध १ वर्ष नहुँदै टुटेको थियो। उनले झुटो बोलेनन्। यी र यस्तै कुरासँगै पहिलो औपचारिक भेटबाट प्रकाश र सृजना छुट्टिए, छिट्टै भेट्ने वाचासहित। फोनमा दुवैकोे कुराकानी हुन थाल्यो।

एकअर्काप्रति माया झाँगिदै गएको थियो। दुवैले एक अर्कालाई मन पराइसकेपछि मामा चन्द्रकान्तको पहलमा विवाहको दिन तोकियो। वि.सं. २०६४ साल माघ ३ गते दुवै पक्षबीच विवाहको तयारी भयो। लडाकूको कडा सुरक्षाबीच भएको विवाहले राष्ट्रिय चर्चा पायो। पोखराको पृथ्वीचोकमा रहेको वाइसिएल क्याम्पमा जनवादी विवाह भयो। ‘बुबाको रहरले बाजा पनि बजाइयो उनले भनिन ।

भर्खरै १८ पुगेर १९ लाग्दै गर्दा वैवाहिक जीवनमा प्रवेश गरेकी सृजनाले प्रकाश दाहालको साथ पाउँदा आफूलाई निकै भाग्यमानी सम्झिइन्। विवाहलगत्तै भारतका विभिन्न शहरहरु घुम्न पुगेको स्मरण उनले गरिन्। सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आइसकेको पार्टी, बिहानैदेखि घरमा राजनीतिक भेटघाट, बैठक नियमितजस्तो हुन्थ्यो। प्रकाश ती सबैको व्यवस्थापनमा व्यस्त हुन्थे। सृजना घरको व्यवस्थापनमा जुट्थिन्। विवाहको तीन वर्षपछि वि.सं. २०६७ साल मंसिर १ गते छोरा जन्मियो। परिवारमा बृहत खुशी छायो।


छोरा प्रसिद्धको साथमा सृजना

प्रकाशसँगको सहयात्रामा जिन्दगीका रंगीन सपना सजाउँदै अघि बढिरहेकी सृजना एकाएक गुमनामजस्तै हुन पुगिन्। जब प्रकाश र बिना मगरको सम्बन्धको चर्चा चल्यो। उनी केही समय छोरासहित माइत आएर बसिन्। उनी नियमित कर्मबाट बिचलित भइनन् । प्रकाश र बिनाविरुद्ध कुनै शब्द खर्च गरिनन्।

संवादका क्रममा पनि सृजना यो विषयमा खुल्न चाहिनन्। ‘मैले जे भोग्नु थियो भोगेँ, म कसैलाई दोष दिन चाहन्न, मेरो प्रकाशप्रतिको प्रेम निरन्तर बगिरह्यो, उहाँको भौतिक शरीर हुँदा पनि बग्यो, र आज सम्झनामा हुँदा पनि बगिरहेको छ, समय परिस्थितिले उहाँ मबाट टाढा हुनुभयो, तर माया सम्बन्धबाट टाढा कहिल्यै हुनुभएन,’ सृजनाले गहभरि आँशु पार्दै भनिन्।

प्रकाश बितेपछि सृजनाको एक वर्ष

चुनावको माहौल चलिरहेको थियो। छोरा पढाउनका लागि सृजना काठमाडौँमै बस्न थालेकी थिइन्। ‘मंसिर ३ गते पार्टी कार्यालयबाट उहाँ नर्भिकमा अस्पतालमा आइसियुमा हुनुहुन्छ भन्ने खबर आयो,’ सृजना सम्झिन्छिन्, ‘म तुरुन्तै नर्भिक.हस्पिटलमा पुगेँ, जब उहाँलाई त्यो अवस्थामा भेटेँ, मैले आफूलाई सम्हाल्न सकिनँ, म बेहोस भएछु।’

सृजनाले आफ्नो श्रीमान् र छोराको बुबाको रुपमा कहिल्यै पनि प्रकाशको मृत्युको कल्पना गर्न नसक्ने बताइन्। विडम्बनामा मेरो पुकारले उहाँ ब्युँतिनु भएन, म हारेँ, निशब्द बने उनले भनिन्।

सम्हाल्नु त थियो नै। सृजना आफूले आफैँलाई सम्हालिन्। केही साहस छोराको अनुहारले दियो उनलाई। ‘एक वर्षमा मैले पटक पटक प्रकाशलाई सपनामा देखेँ, झस्केँ पनि, राजनीतिक पृष्ठभूमिका कारण धेरै मिडिया प्रकाशको र मेरो सम्बन्धको पछि लागेका थिए, म केही बोल्न चाहिनँ,’ उनी भन्छिन्, ‘नितान्त व्यक्तिगत विषय थियो, कति मैले बोल्दै नबोलेका कुरा पनि बाहिर आए, सहानुभूति राख्नेहरु पनि उत्तिकै थिए, अँध्यारोपछिको उज्यालोको पर्खाईमा मैले मेरो दैनिकी बिताउँदै गएँ।’

 चुनावको मुखैमा भएको दुखद् घटनाले बुवालाई (प्रचण्ड दाहाल ) पनि सम्हालिन निकै गाह्रो भएको सृजना सम्झिन्छिन आँसु दबाएर उहाँ चुनावी कार्यक्रममा सहभागी हुनुभएको थियो, आमाको (सीता) अवस्था त झन नाजुक थियो, आज पनि छोराको वियोगको कारण आमा सामान्य अवस्थामा आउन सक्नु भएको छैन,’ उनी भन्छिन्।

यी र यस्ता दृश्यबीच आफूले पीडालाई खुलेर आँशु बनाएर बगाउने समय पनि नपाएको सृजना बताउँछिन्। ‘म बुबाको चुनावी प्रचारमा हिँडे, पार्टीको जिम्मेवार सदस्यको नाताले मैले शोकलाई शक्तिमा बदलेर आफ्नो कर्तव्य पूरा गरेँ,’ उनले भनिन्।

भविष्यको सोच (सृजनाकै शब्दमा)

जति समय बिताए एकदमै सन्तुष्ट छु। बिताउन नपाएका पलहरुमा कुनै पश्चाताप पनि छैन। मंसिर ३ मेरो जीवनको कालो दिन हो। मैले माया गर्ने मान्छे गुमाएको दिन। मंसिर ३ मा वार्षिक स्मृतिसभा हुँदैछ। म यही कार्यक्रममा सहभागी भएर पोखरा फर्किने छु। पोखरा मेरो कार्यक्षेत्र हो।

प्रकाश सधैँ राजनीतिका बारेमा सोच्नु हुन्थ्यो। उहाँको कुनै ठूलो सपना योजना केही थिएन। मात्र बुबाको राजनीतिलाई सफल बनाउने मात्रै थियो। मलाई पनि राजनीतिका बारेमा निकै सिकाउनु हुन्थ्यो। मलाई पूर्णकालीन राजनीति गर्न र अध्ययन गर्न सधैँ हौस्याउनु हुन्थ्यो। मैले स्नाकोत्तर अध्ययन पूरा गरेँ। उहाँले देखाएको बाटोमा नै म हिँड्ने छु। छोरा प्रसिद्ध के बन्छन्, त्यो उनको व्यक्तिगत कुरा हो। म राम्रो संस्कार र शिक्षा दिन हरपल खटिने छु। साथै म नेकपाको जिल्ला सचिवालय सदस्य जिम्मेवारीमा रहेर काम गरिरहेकी छु।

विवाहका बारेमा धेरैले कुरा उठाउँछन्। बुबा (प्रचण्ड)ले पनि बेला–बेला विवाहको प्रसंग जोड्नु हुन्छ। ‘सृजना विवाहको बारेमा केही सोचेकी छौँ भने भन’ भन्नुहुन्छ। तर, मैले विवाहको बारेमा केही सोचेकी छैन। मेरो मन मस्तिष्कमा जबसम्म प्रकाशको अगाध प्रेम रहिरहन्छ, म बिहेको कल्पना गर्न सक्दिँन। कुनै दिन समय बदलिएछ भने त्यो फरक कुरा हो। म अबको बाँकी जीवन सक्रिय राजनीतिमा बिताउन चाहन्छु। प्रकाशले देख्नु भएका अधुरा सपनाहरुलाई मैले पूरा गर्न चाहन्छु।

लेखिका जमुना बर्षा शर्मा
(उहाँ सन्चारिका समुह पश्चिमाञ्चलको अध्यक्ष पनि हुनुहुन्छ )