अव्यवस्थित तार हटाउन महानगरको अभियान आजबाट शुरु

पोखरा, २७ मंसीर ।
पोखरा महानगरपालिकाले पोखरा बजार क्षेत्रमा बिजुलीको पोलमा रहेका अनावश्यक तारहरु हटाउने अभियान शुरु गरेको छ ।

पोखराको मुख्य बजार क्षेत्रमा बिजुलीको पोलमा रहेका अनावश्यक तारहरु हटाउने ४० दिने अभियानको सुरुआत गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अव्यवस्थित तारहरुले कुरुप बनेको शहरलाई तारहरु हटाउँदै सुन्दर बनाईने बताए ।

प्रमुख जिसीका अनुसार महानगरपालिकाले ४० दिने अभियानको पहिलो चरणमा सिद्धार्थचोकदेखि न्युरोडहुँदै सभागृहचोक, दोस्रो चरणमा पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार पृथ्वीचोकहुँदै सभागृहचोक, तेस्रो चरणमा सभागृहचोकदेखि सिर्जनाचोक, जिरोकमीहुँदै लेकसाइडको हल्लनचोक र चौंथो चरणमा हल्लनचोकदेखि बाराहीचोक, गौरीघाट, सहिदचोकहुँदै मुस्ताङचोकसम्म अभियान सञ्चालन हुनेछ ।

पोलमा राखिएका अनावश्यक तारहरुकै करण सहर कुरुप हुनका साथै दुर्घटना समेत भएकाले महानगरले यो अभियान सुरु गरेको हो ।

बजारमा केवल ईन्टरनेटका विभिन्न ४५ कम्पनीका तारहरु रहेपनि बिहीवार ९ कम्पनीका प्रतिनिधि मात्र सम्पर्कमा आएका थिए। तार हटाउन प्राविधिक सहयोग नेपाल टेलिकमले उपलब्ध गराएको छ ।