महानगरपालिकाको पहलमा फेवाताल संरक्षणका लागि माटो निकाल्ने अभियान सुरु

१४ माघ २०७५, सोमबार
पोखरा । पोखरा महानगरपालिकाको पहलमा फेवाताल संरक्षणका लागि सोमबारदेखि तालबाट ढुंगा, माटो निकाल्ने अभियान सुरु गरेको छ । महानगरपालिकाले अभियान अन्तर्गत फेवातालको बंगलादी क्षेत्रबाट गण्डकी प्रदेश सरकारको उपस्थितिमा ढुङ्गा, माटो निकाल्ने अभियान सुरु गरेको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङ्गले अभियानको सुरुवात गरेका हुन् ।

सुरुवातसंगै कार्यक्रममा बोल्दै उनले स्थानीय तहसंग प्रदेश सरकार फेवाताल संरक्षण अभियानमा एकै साथ अघि बढेको बताए । फेवाताल संरक्षण र अतिक्रमणबाट रोक्न प्रदेश सरकारले एक्सन कमिटी गठन गरिसकेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङ्गले कमिटीले सर्वोच्चको निर्णय अनुसार काम थाल्ने समेत बताएका छन् ।

त्यस्तै महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सर्वाेच्च अदालतले फेवाताल संरक्षण गर्न स्थानीय तहलाई दिएको निर्देशनको पालना गर्न अभियान सुरु गरिएको बताएका छन् ।

फेवाताल संरक्षणमा सरकारको समेत ध्यान गएकाले सबैको समन्वयमा काम गर्ने उनको भनाई रहेको थियो । स्काइभेटर (जेसिभी), टिप्पर लगायका साधनबाट करिब १५÷२० दिनसम्म उक्त क्षेत्रको माटो निकालिने मेयर जिसीले कार्यक्रममा जानकारी दिएका छन् ।

फेवाताल पोखराको लागि मुख्य पर्यटकीयस्थल भएकाले पनि यसको संरक्षण गर्नु अहिलेको आवश्यकता भएको उनको ठम्याई रहेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफुहरुले पहिले नै तालको माटो निकाल्न खोज्दा प्राविधिक कारणले गर्दा रोकिएको भन्दै ढिलै भएपनि महानगरले सुरु गरेकोमा खुसी व्यक्त गरे ।

फेवातालको संरक्षणका लागि सर्वोच्व अदालतले दिएको निर्देशन पालना गर्नुपर्नेमा उनको जोड रहेको छ ।