वर्ड फ्लुको जोखिम बाट कसरी बच्ने

हालै बर्ड फ्लु काठमाडौं र हेटौंडामा देखियो। बर्ड फ्लु देखिएपछि संक्रमित स्थान वा क्षेत्रमा पुगेर कुखुरा नष्ट गर्ने क्रम जारी छ। हजारौं कुखुरा नष्ट गरिसकिएको छ। यसको प्रमुख उदेश्य भनेको बर्ड फ्लु अरु स्थानमा फैलँदै नजाओस् र यसबाट हुने आर्थिक क्षति र मानवीय संक्रमणको जोखिमलाई कम गर्नु हो।

अहिलेसम्मको प्रचलन हेर्दा मानवीय संक्रमणको जोखिम कम गर्न विशेष गरेर कुखुरा वा पक्षीपालन गर्ने कृषकहरुलाई बढी केन्द्रित गरी सूचना प्रवाह गर्ने वा बच्ने उपायहरुको प्रशिक्षण दिने गरेको पाइन्छ। त्यो आवश्यक पनि छ। तर यो बाहेक बर्ड फ्लु संक्रमण फैलने अरु तरिकाहरु पनि छन्।

संक्रमित पक्षी ओसारपसार गर्दा, खासै चर्चामा नआएका पक्षी बजार र वधशालाहरु बर्ड फ्लु संक्रमण फैलाउन सक्ने अरु माध्यम हुन्। वास्तवमा, धेरै अनुसन्धान लेखहरुमा बर्ड फ्लु संक्रमित मानिसहरु पक्षी बजारमा गएका र त्यहाँबाट संक्रमित हुने गरेको उल्लेख गरेको पाइन्छ।

त्यस्तै पक्षी जब बधशाला पुग्छ, त्यहाँ पनि वधकर्ताहरुले बचाउका उपायहरु अपनाएको पाइँदैन। यसले गर्दा त्यहाँ काम गर्ने मानिसहरु बर्ड फ्लुको उच्च जोखिममा रहेको पाइन्छ। पक्षीको वधपछि, पक्षीका सुली र प्वाख जस्ता चिजहरुबाट पनि संक्रमण फैलन सक्ने भएको र ती वधशालामा ती सबै चिजहरु यत्रतत्र देखिने गरेकोले पनि बर्ड फ्लु संक्रमण फैलने उच्च जोखिम देखिन्छ।

तसर्थ पोल्ट्री फार्ममा काम गर्ने कृषकहरु, पक्षी बजारमा काम गर्ने पसले वा किन्ने ग्राहकहरु, पक्षी ओसारपसारमा प्रतक्ष्य संलग्नहरु, र बधशालामा काम गर्नेहरु बर्ड फ्लु संक्रमणको उच्च जोखिममा देखिन्छन्। त्यसैले यी चारै क्षेत्रमा काम गर्नेहरुलाई बर्ड फ्लु बारेमा विशेष तालिमको आवश्यकता देखिन्छ।

बर्ड फ्लु संक्रमणमा उच्च मानवीय मृत्युदर देखिने गरेकोले यसलाई उच्च जोखिममा राखिएको हो। यसलाई उच्च र न्यून रोगजनक एभिएन इन्फ्लुएन्जा भाइरस भनेर वर्गीकृत गरिएको छ। नेपालमा पहिलेदेखि नै देखापर्दै आएको एच फाइव एन वान उच्च रोगजनक एभियन इन्फ्लुएन्जा भाइरसमा पर्दछ। यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म रहेको पाइन्छ। त्यसैले एच फाइव एन वान संक्रमण देखा परे विश्वमा नै उच्च सतर्कता अपनाएको पाइन्छ।

त्यस्तै हाम्रो छिमेकी देश चीनमा सन् २०१३ यता एच ७ एन ९ बर्ड फ्लु मानिसमा पनि देखापर्दै आएको र प्रत्येक वर्ष मृत्यु हुने मानिसको संख्यामा पनि बृद्धि हुँदै गइरहेको पाइन्छ। हाल यसबाट मानिसको मृत्युदर झन्डै ४० प्रतिशतको हाराहारीमा देखिएको छ। नेपालमा यी दुवै एच ५ एन वान र एच ७ एन ९ बर्ड फ्लु मानिसमा पत्ता लागेको भने छैन तर भविष्यमा देखिँदैन भन्न सकिँदैन।

हाल नेपालमा देखिएको बर्ड फ्लुको प्रजाति भने एच ९ एन २ हो। यसलाई अहिले पनि न्यून रोगजनक एभिएन इन्फ्लुएन्जा भाइरसको वर्गमा राखिएको पाइन्छ। तर हाल यो भाइरसले नेपालमा गरेको उल्लेखनीय पक्षीको क्षतिको अनुपातलाई मध्यनजर गर्ने हो भने यसलाई न्यून रोगजनक एभिएन इन्फ्लुएन्जा भाइरस भन्ने अवस्था देखिँदैन। अथवा उच्च रोगजनक एभिएन इन्फ्लुएन्जा भाइरसमा वर्गीकृत गर्नुपर्ने देखिन्छ।

आगामी दिनमा पक्कै पनि वैज्ञानिकहरुले यसबारेमा पुनर्विचार गर्न सक्नेछन्। हाल कुखुरामा देखिएको यो एच ९ एन २ भाइरस फाट्टफुट्ट मानिसमा पनि देखिएको वैज्ञानिक लेखहरुमार्फत सार्वजनिक भइरहेका छन्। तर नेपालमा हाल शंका लागे मानिसमा यो भाइरस पहिचान गर्ने सेवा उपलब्ध भने छैन।

बर्ड फ्लु संक्रमण विशेष गरेर प्रत्यक्ष संक्रमित पक्षीहरुको सम्पर्कमा आहेकाहरुमा बढी मात्रामा देखिने गरेको छ भने मानिसबाट मानिसमा सजिलै सर्ने गरेको आजको मितिसम्म भने देखिएको छैन। तर भाइरसको जिनमा हुने छिटोछिटो परिवर्तनको कारणले मानिसबाट मानिसमा पनि द्रुत गतिमा फैलनसक्ने सम्भावना भएकोले वैज्ञानिकहरुले बेलाबेलामा चिन्ता व्यक्त गरेको पाइन्छ।

त्यसैले पनि बर्ड फ्लु भन्ने बित्तिकै विश्वको नै ध्यान आकृष्ट गरेको पाइन्छ। नेपालमा पनि बर्ड फ्लु भाइरस शंका लागे खासगरी जोखिममा रहेकाहरुको लागि जाँच गर्ने सेवा उपलब्ध भए भविष्यमा बर्ड फ्लुबाट हुनसक्ने सम्भावित मानवीय संक्रमण वा क्षतिलाई न्यून वा नियन्त्रण सहजै गर्न सकिने छ।

डा शेरबहादुर पुन
साभार स्वास्थ्य खबर बाट