पृथ्वीचोक देखि जिरोकिमीका पोलमा फूलका गमला

पोखरा २१ चैत ।
वडालाई सुन्दर बनाउन पोखरा महानगरपालिका वडा नम्वर ८ सडकछेउका पोलमा फूलका गमला राखेको छ । वडाले पृथ्वीचोकबाट जिरो किमी सम्मका १ सय ६० वटा पोलमा फूलका गमला राखेको हो । वडाको सौन्दर्यकरण गर्ने उद्देश्यले फुलका गमला राखिएको वडाले जनाएको छ ।

विहिबार पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले पृथ्वीचोकबाट पोलमा फूलको गमला राखेर सुरुवात गरिन् । उनले पोखराको मुुटु पृथ्वीचोकलाई सुन्दर बनाउन सहयोग पुग्ने बताइन् । उनले पोखरा आफैमा सुन्दर शहर भएको बताउदै वडाले सुरुवात गरेको कामले थप सुन्दर बनाउने बताइन् ।

यो पर्यटकीय शहर हो यसलाई अझै सुन्दर बनाउन आवश्यक छ उनले भनिन, ‘पोखरा विश्वकै उत्कृष्ट दश शहर मध्यको एक हो, त्यसैले यसलाई अझै सुन्दर र सफा बनाउने दायित्व र जिम्मेवारी हाम्रो हो ।’ कार्यबाहक प्रमुख गुरुङले पोलमा राखिएका फूल र गमलाको संरक्षण गर्ने दायित्व वडाबासी सवैको भएको बताइन् ।

वडा अध्यक्ष रुद्रनाथ बरालले वडालाई सौन्दर्यकरण गर्ने उद्देश्यले पोलमा फूलका गमला राखिएको बताए । उनले राखिएका फुल र गमलाको संरक्षण पृथ्वीचोक र जिरो किमी क्षेत्रका व्यवसायी र घर धनिले गर्नुपर्ने बताए । उनले पृथ्वीचोक देखि जिरो सम्म ६० वटा चौतारी निर्माण गरिने समेत बताए । वडा सदस्य पुष्पराज सिग्देलले वडाको सौन्दर्यकरण गर्ने अभियान अन्र्तगत फूलका गमला राखिएको बताए । कार्यक्रमको सञ्चालन वडा सचिव भेषराज शर्माले गरेका थिए ।