पत्रकार गिरीको रिहाईको माग गर्दै देशभरका पत्रकार आन्दोलित

पोखरा,३ वैशाख ।
समाचार लेखेकै भरमा साईवर क्राईम मुद्धामा पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलित भएका छन्
केन्द्रमा अनलाईन पत्रकार संघको संयोजनमा धर्नाको कार्यक्रम गरियो भने पोखराका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय अगाडी कार्यालय अगाडी धर्ना दिएका छन् । धर्नामा सहभािग पत्रकारहरुले पत्रकार गिरीको तत्काल विनाशर्त रिहाईको माग गरे ।

यसैबिच नेपालत्र पत्रकार महासंघ गण्डकीको समन्वयमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पत्रकार महासंघले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडी विरोधको ब्यानर सहित धर्ना दिए ।

महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने बुधबारका सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको छ । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

पत्रकार गिरीले ताण्डव न्युज तथा ताण्डव न्युज साप्ताहिकमा यहाँका व्यवसायी विपिराज बतासले दुई व्यक्तिको करोडौँ रकम नतिरि ठगी गरेको समाचार प्रकाशन गरेका थिए । सोही समाचारलाई लिएर व्यवसायी बतासले नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान व्युरोमा विद्यूतिय अपराधको उजुरी हालेका थिए ।