अर्थ तथा विकास समितिद्धारा ‘प्रि-वजेट’ छलफल

पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितीले ‘प्रि-वजेट’ छलफल गर्ने भएको छ । जनताको अपेक्षा अनुसार बजेट निर्माणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव दिन ‘प्रि-वजेट’ छलफल गर्ने समितीका सभापति दिपक कोईरालाले जानकारी दिए ।

समितिले प्रदेशका सबै जिल्लाहरु समेटेर स्थानिय तहका प्रमुख,उपप्रमुख, निजि क्षेत्रलगायत सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्नेछ । छलफलका लागि समितीले तिन केन्द्र तय गरेको छ ।

सभापति कोईरालाले दिएको जानकारी अनुसार तनहुँको दमौलीमा आगामी ३० गते छलफल हुनेछ । छलफलमा तनहुँ, नवलपुर, गोरखा, लमजुङ र मनाङ जिल्ला समेटिनेछन् । यस्तै बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला समेटेर ३१ गते बाग्लुङमा छलफल हुनेछ भने स्याङजा र कास्की जिल्लाको छलफल जेठ २ गते पोखरामा हुनेछ ।

यसैविच समितिले आफ्नो मातहतमा रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरुसँग पनि छलफल गर्ने र नयाँ वजेटको आधार समेत पेश गर्ने योजना रहेको सभापति कोईरालाले जानकारी दिए ।