स्थानीय तह सञ्चार योजना विषयक दुई दिने अन्तरसंवाद सुरु

पोखरा,१६ जेष्ठ ।
गण्डकी प्रदेशमा क्रियाशिल सञ्चारीका समुह नेपालले दुई दिने अन्तरसंवाद कार्यक्रम सुरु गरेको छ । पोखरा महानगरपालिकाको साझेदारीमा शुसासनका लागी सञ्चार,सञ्चारका लागी समन्वय विषयक सञ्चार कार्यक्रम सुरु गरेको हो ।

स्थानीय तह सञ्चार योजना विषयक कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै, कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चारिका समूह र कार्यपालिका सदस्यले खेल्ने भुमिका के हो भन्ने विषयमा प्रष्ट गरिदिन आग्रह गरे । त्यस्तै सञ्चारिका समुहका सदस्यहरुलाई खोजमुलक पत्रकारितामा जोड दिन पनि आग्रह गरे । उनले भने–“तपाईंहरु खोजमुलक पत्रकारितालाई जोड दिनुस् कहाँनिर गल्तिकमजोरी छ सत्य तथ्य लेख्नुस्, यस्तो भए निर्वाचित प्रतिनिधिहरु र बाहिर उपभोक्ता अन्य नागरिकहरुमा पनि कम्तिमा पनि हामी धेरै सतर्क रहनु पर्छ भन्नेमा ध्यान पुर्याउन सक्छौं ।” मेयर जिसीले विकास निर्माणको काममा देशका तीन वटै सरकार एकजुट भएर अगाडी बढ्नु पर्ने समेत स्पष्ट पारे ।

यस्तै कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शारदा कुमारी पराजुलीले आम सञ्चार र पत्रकारिता सम्बन्धी आफ्नो अनुभव, वडाका कार्यक्रममा आमसञ्चारको भुमिका,लगायतका विषयमा बोलेकी थिइन् । उनले सार्वजनिक सरोकार एवं सुशासनका विषयमा सुचना पाटीको भन्दा आम सञ्चारको भुमिका महत्वपुर्ण रहने बताइन् । निष्पक्ष, जवाफदेहिता र स्वतन्त्र ढंगले कमल चलाउन पत्रकारलाई आग्रह समेत गरिन् ।

कार्यक्रम बोल्दै महानगरपालिका २६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले सार्वजनिक विकासको काम गर्दा एकदुई जनाको मात्र कुरा सुन्ने गरेको हुनाले आगामी दिनमा सबै सँग सहकार्य गरेर समाचार लेख्न आग्रह गरे ।

सञ्चार र राजनीति क्षेत्रको नङ र मासुको जस्तो सम्बन्ध भएको र जनयुद्धमा पनि सञ्चार क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको वडा नं. १३ का वडा अध्यक्ष र्दशन लामाले बताए । 
यस्तै कार्यक्रममा वडा नं.१६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य,वडा नं. ३० का वडासदस्य रमा नेपाली वडा नं ३१ का वडा अध्यक्ष कमल बहादुर थापा लगायतले आ–आफ्ना भनाई व्यक्त गरेका थिए ।

सञ्चारिका समुह गण्डकी प्रदेशका अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त समुहका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा,संस्थापक अध्यक्ष तथा अधिवक्त दुर्गा भण्डारी,पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली,नागरिक समाजका अगुवा आनन्दराज मुल्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की र अन्नपूर्ण पोष्टका व्यूरो चिप केशव शरण लामिछाने सहजिकरण गरेका थिए । कार्यक्रम सञ्चालन सञ्चारिका समूह गण्डकी प्रदेशका महासचिव कविता श्रेष्ठले गरेकी थिइन् ।