नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का

२६ जेठ, पोखरा ।
नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का नेतृत्वको प्यानल निर्वाचित भएको छ ।

पदाधिकारीतर्फ खड्का प्यानलको उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराई (९६) बाहेक सबै उम्मेदवार विजयी भएका छन् । नेकपाका सक्रिय कार्यकर्ता रहेका अध्यक्षमा निर्वाचित खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । खड्काको पक्षमा २१८ र लामिछानेलाई १६१ मत झरेको थियो ।

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती २४३ मत प्राप्त गरेर विजयी भइन् । उनी लोकप्रिय मत ल्याउने उमेदवार बनिन् । उपाध्यक्षमा सानुकुमार ताम्राकार पनि विजयी भए ।

महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी विजयी हुँदा सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भइन् ।

सदस्यमा शितल केसी, गोपाल नेपाल, शारदा नेपाल, जयकिशन बस्नेत, उद्धव भट्टराई, धर्मानन्द आचार्य, जीवन थापा, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् । शनिबार भएको कलाकार संघको निर्वाचनमा ३८७ कलाकारले मतदान गरेका थिए ।