पर्वतको पहिलो सामुदायिक रेडियोमा आगालागी ।

२९ जेठ २०७६ पोखरा ।
पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा गएराती आगालागी हुदा सम्पुर्ण सामाग्री जलेर ध्वस्त भएको छ ।

राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा रेडियोको सामाग्री ध्वस्त हुनुका साथै घरमा समेत क्षति भएको हो । आगालागीबाट रेडियोको ट्रान्समिटर , ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिए ।

उनका अनुसार आगलागीले क्षति पुगेपछि कुनैपनि सामान काम नलाग्ने भएकाले रेडियोको प्रशारण समेत बन्द भएको छ । रेडियोमा आगलागी लगत्तै स्थानीयवासी र प्रहरीको सक्रियतामा राती दुई बजे नियन्त्रणमा लिईएको थियो ।

विद्युत जडान गरिएको स्वीचमा समस्या आएका कारण पुर्ण रुपमा क्षति पुगेको जनाइएको छ । आगालागीबाट रेडियो संचालित घरका तीन वठा कोठामा समेत क्षति पुगेको छ । उक्त घटनाबाट झण्डै रु.तीस लाख रुपैया भन्दा बढिको क्षति भएपनि यकिन विवरण भने आईनसकेको शर्माले जानकारी दिए ।

तत्काल थाहा पाएका कारण कुनै मानविय क्षति हुन भने नपाएको प्रहरीले बताएको छ । घटनाको क्षतिको विवरण संकलन र थप अनुसन्धान भैरहेको प्रहरी कार्यलय पर्वतले जनाएको छ । २०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासवाट प्रशारण हुँदै आएको त्यस क्षेत्रको पहिलो सामुदायिक रेडियो पछिल्लो समय अहिंसावादी रेडियो पर्वतको नाममा संचालनमा रहेको थियो ।