गुठी विधेयक सम्बन्धी विरोध पोखरामा पनि

पोखरा, २ असार ।
नेपाल सरकारले प्रस्ताव गरेको गुठी विधेयक सम्बन्धी पोखरामा पनि विरोध गरेका छन् । विभिन्न संघ संस्था र जातीहरुले गुठी विधेकको विरोध गर्दै सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढालाई विश्वशंकर पालिखेले ज्ञापन पत्र बुझाएका छन् । पोखराको चिप्लेढुङ्गाबाट शुरु भएको विरोध जुलुस न्युरोड, सभागृह, सृर्जनचोक, रत्नचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

जुलुस पश्चात भेलालाई सम्बोधन गर्दै पालिखेले गुठी सम्बन्धी बिधेयक ल्याएर सरकारले गुठीको परम्परागत मौलिकतालाई नै मेटाउने काम गरेको बताए । उनले भिन्न भिन्न प्रकृतिको गुठीहरुलाई एकै ढङ्गले सम्बोधन गर्न सम्भव नभएको भन्दै उक्त विधेयक खारेज हुने विश्वास व्यक्त गरे । साथै ज्ञापन पत्र बुझाएर पनि यस विषयलाई सरकारले बेवास्ता गरे अझै सशक्त रुपमा उत्रने समेत चेतावनी दिएका छन् ।

सरकारले गुठीसम्बन्धी बिधेयक ल्याएपछि देशका विभिन्न ठाउँमा बिरोध र सर्मथनमा कार्यक्रमहरु हुदै आएका छन् ।