बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक जना पक्राउ

असार २२

बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा सुन लिन आउने थप दुुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङ्गका लिलाबहादुर बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुुभयो । सामान लिन आउने रूपेश गिरी र टेकबहादुर थापालाई समेत पक्राउ गरिएको उहाँले बताउनुुभयो ।

उहाँका अनुसार उनले कसैले पार्सल भनेर पठाएको पोको आफूले ल्याइदिएको बयान दिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनीसँग ४०० ग्राम सुनसमेत बरामद गरेको छ । बस्नेत तीन वर्ष कतारमा वैदेशिक रोजगारीमा बसेर घर फर्कदै गरेका थिए । सुुन रिङ बनाएर डाइपरमा हालेको अवस्थामा भेटिएको थियो ।