विजयपुरको डाईभर्सन बाढीले बगायो

पोखरा,२३ असार ।

पोखरा प्रवेशको मुख्यद्धार विजयपुर खोलामाथि अस्थायी रुपमा सञ्चालनमा ल्याईएको डाइभर्सन बाढीले बगाएको छ ।

पृथ्वीराजमार्गको पोखरा महानगरपालिका–१४ चाउथे र २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशक अघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आउन जान रोक लगाईएको थियो ।

ठूला यातायातका साधनलाई नदीमा ह्युम पाईप राखेर वारपार गरिएकोमा आईतबार रातीको बाढीले ह्युम पाईए बगाएको हो ।

डाइर्भसन बाढीले बगाउँदा पोखरा भित्रिने तथा पोखरा हुँदै पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा जाने मालबाहक ट्रकको वारपार ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ठूला क्षमताका गाडीहरु विहान ५ बजेदेखि सडकमै रोकिएको प्रहरीको भनाई छ ।

डिभिजन सडक कार्यालय पोखराले स्टिल पुलको आडमा बेलिब्रिज निर्माणको लागी सामग्री आईपुगेको तथा बेलिब्रिज जडान गर्नको लागि एबुटमेन्ट(पिल्लर) निर्माण सकिएकाले आजबाट जडानको काम शुरु गर्ने तयारी गरेको छ ।

गत फागुन अन्तिम साता पुल जीर्ण भएको पत्ता लागेपछि १० टन भन्दा बढी क्षमताका साधनलाई नदीमा अस्थायी रुपमा ह्युम पाईप हालेर वारपार गरिएको थियो ।
कार्यालयका सव–इन्जिनियर किरण सुबेदीले सात देखी १० दिनभित्रमा बेलिब्रिज जडानको काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइने बताए