अनेसास-सुप्रमा पुरस्कार गजलकार उप्रेतीलाई

पोखरा १२ साउन

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले गजलकार नृपेश उप्रेतीलाई यस वर्षको अनेसास-सुप्रमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । उप्रेतीलाई उनको गजल संग्रह ‘मुसाफिर’ को लागि छनोट गरिएको हो ।  

बेलायती नेपाली -डायस्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दरप्रसाद मानन्धरको नाममा स्थापित सो पुरस्कारको राशी २५१ स्टर्लिङ पाउण्ड छ ।  

उक्त पुरस्कार प्रत्येक वर्ष बेलायतमा रहेर सिर्जना गरिएको एक उत्कृष्ट पुस्तकलाई प्रदान गरिन्छ । यसअघि मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाईं तथा डा. सुमाया राईले पाइसकेका छन् । 

पुरस्कार समितिका सँयोजक तथा अनेसास यूके सल्लाहकार डा. रुपक श्रेष्ठका अनुसार, सो पुरस्कार यहि अगष्ट २-५ तारिख लण्डनमा हुन गइरहेको छैटौँ अन्तरराष्ट्रिय सम्मेलनमा दिइनेछ । सम्मेलनमा स्व. मानन्धरकी धर्मपत्नी जानकी मानन्धरको उपस्थितिमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुबेदीले पुरस्कार दिने कार्यक्रम छ ।

अध्यक्ष सुमलकुमार गुरुङको संयोजनमा अनेसास यूकेले छैटौँ अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।