प्रधानमन्त्री रोजगार कोष दुरुपयोग नगर , सांसद राना

पोखरा २७ साउन
राष्ट्रिय सभाका सदस्य विन्दादेवी आले रानाले प्रधानमन्त्री रोजगार
कोषको दुरुपयोग भएको बताएकी छिन् । राष्ट्रिय सभाको विशेष
समयमा बोल्दै सांसद रानाले पुँजी निर्माण र रोजगारको दीगो
व्यवस्थापन नगरी कनिका छर्ने शैलीको विरोध गरेकी हुन् ।
संविधानमा मौलिक अधिकार भएसँगै रोजगार ऐन २०७५ समेत
बनिसकेको अवस्थामा सरकारको शैलीले जनता आजित बनेको उल्लेख गरिन् ।

प्रधानमन्त्री रोजगार कोषबाट झार उखेल्ने, खादा र माला
लगाएर फेसबुक पेजमा राखेर कुनै पनि योजना पूरा नहुने ठोकुवा
गर्दै योजना नेपाली नागरिकका हितमा हुन नसकेको रानाको आरोप छ ।

रानाले बास्तविक बेरोजगार पहिचान गरी सीपयुक्त रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । सार्वजनिक विकाश निर्माणको गतिविधि हेर्दा अनावश्यक ढंगबाट सामाजिक सञ्जालमा देखिनु लाजमर्दो भएको औंल्याइन् । कोषको ३ अर्ब १० करोड रुपैयाँ खर्च भएकामा कहाँ सदुपयोग भयो भन्ने प्रश्न गर्दै समीक्षा गनुपर्ने माग गरिन् । वितरणमुखी बजेटकालागि वैदेशिक ऋण ल्याउने योजनाबारे जानकारी दिन सरकारलाई अनुरोध गर्दैै १३ अर्ब ऋण ल्याउन खोजिएको विषय जनतालाई जानकारी दिनुपर्नेमा बताइन् ।

जनशक्तिको उपयोग सहि ढंगबाट हुनुपर्नेमा त्यसो हुन नसक्नुमा सरकार दोषी देखिएको छ उनले भनिन । ३ तहको सरकारबीच
छलफल आवश्यक छ र ३ तहको सरकारको आम्दानीबाट यस्ता
रचनात्मक काम गर्नु पर्नेमा उनको जोड थियो । सरकारी चुहावट
रोक्न सरकार असफल भएको बताउँदै राष्ट्रिय सभामा रानाले प्रश्न
गरिन् । रानाले पोखरा महिला सीप विकास प्रालि सिमलचौरले ५ सय बढी महिला, असाह्य र फरक क्षमता भएकाको संरक्षण र दीगो आम्दानी गर्ने उद्देश्यले सञ्चालित घरेलु उद्योगलाई प्राथमिकता दिनु पर्नेमा जोड दिइन् । घरेलु ढंगबाट उत्पादित बस्तुको बजारीकरणमा स्थानीय सरकारसँग छलफलगरी संघीय सरकारले विदेश निर्यात गरी राज्यको आम्दानी बढाउन सघाउ गर्नुपर्ने बताइन् ।

आइतबार राष्ट्रिय सभामा सांसद रानाले महंगी र भ्रष्टाचारले देशमा आम नागरिक बस्न नसक्ने अवस्थामा सरकारले ध्यानै नदिएको आरोप लगाइन ।