शुभतारा थ्री एञ्जल्समा उद्घोषण प्रतियोगिता, सिम्रन डुम्रे प्रथम

पोखरा २८ भदौ ।

पोखराको ईन्द्रचोकमा रहेको शुभतारा थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूलमा सुक्रबारीय कार्यक्रम तथा बाल दिवसको सन्दर्भ पारेर उद्घोषणकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा कक्षा ८ की सिम्रन डुम्रे प्रथम स्थान हासिल गर्न सफल भईन । त्यस्तै कक्षा ९ की पूजा शाक्य द्वित्तिय, कक्षा ८ की दिविसा बराल, नमुना गिरी र आयुष्मा पुन तृतिय भए । उनीहरु ३ जनाकै बराबर अंक आएपछि ३ जनालाई नै तृतिय घोषणा गरिएको हो । प्रतियोगितामा कक्षा ९ की अनिषा पुन मगर सान्तवना भईन् । विजयी सम्पूर्णलाई भदौ २९ गते विद्यालयमा आयोजना हुने बाल दिवसको अवसरमा पुरस्कृत गरिने विद्यालयका कोअर्डिनेटर सुमन लिम्बुले जानकारी दिए । साथै प्रथम हुन सफल सिम्रनले बाल दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा उद्घोषणको अवसर समेत पाउनेछिन् ।

प्रतियोगिताको निर्णायकमा विद्यालयका प्रधानाध्यापक रमेश पाण्डे र नेपाली भाषा शिक्षक विष्णु भट्टराई रहेका थिए । प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा ठूलो टेवा मिलेको विद्यालयका सहायक प्रधानाध्यापक अनर्व विश्वासले बताए ।

सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक पाण्डेले सम्भवतः पोखरामै नौलो र फरक किसिमको प्रतियोगिता आफ्नो विद्यालयमा आयोजना भएको बताए । उनले बोल्ने कला विकाश संगै विद्यालयले सर्वाङ्गीण विकासका लागि शिक्षा प्रदान गर्दै आएको बताए ।

प्रशिक्षक एवं पत्रकार जीवन सुवेदीले बालबालिकाहरुले शब्द चयन तथा कार्यक्रमका सम्पूर्ण विषयवस्तुमा गरेको अभ्यास र प्रस्तुति निकै सरहानीय रहेको बताए ।

विद्यालयमा आयोजित उद्घोषण सम्बन्धि ३० दिवसीय तालीम लिएका विद्यार्थीहरुबीच प्रतिभाको उजागर तथा सक्षम उद्घोषणकला विकास गराउने उद्देस्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा कूल २५ जनाले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको सञ्चालन सोही विद्यालयकी छात्रा आकृति बादीले गरेकी थिईन् ।