अर्थ तथा विकास समितिको बार्षिक प्रतिवेदन गण्डकी प्रदेश सभामा प्रस्तुत

असोज ९ पोखरा

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश सभामा बुधबार बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश सभा सदस्य एवं समितिका सभापति दीपक कोइरालाले गण्डकी प्रदेश सभामा समितिको २३ पृष्ठको बार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

सभापति कोइरालाले समितिले गत आर्थिक बर्षमा १८ वटा बैठक बसेको र ११ वटा निर्देशन दिएको बताउनु भयो । उहाँले ११ वटा निर्देशन धेरै कार्यान्यन भएको र केही कार्यान्वयनको चरणमा पनि रहेको जानकारी दिनु भयो । चार जना मन्त्रीपदेन सदस्य समेत गरी समितिमा १५ सदस्य रहेको छ ।उहाँले समितिले सरकारको काम कारबाहीलाई खाली औला ठड्याउने ,कमि कमजोरीका बारेमा प्रश्न गर्नेमात्र नभएर रचनात्मक र सिर्जनात्मक रुपले सरकारका कामलाई ब्यवस्थित गर्न सहयोग गर्नुपनि समितिको कर्तब्य हुन आउछ भन्नु भयो ।

उहाँले सरकार,सदन वा समितिहरु एउटै उद्देश्यमा केन्द्रित रहेको भन्दै सवै एकताबद्ध भएर अगाडि बढ्न अपील समेत गर्नु भएको छ । गण्डकी प्रदेश सभा नियमावली २०७४को नियम १५१को उपनियम ७ बमोजिम सभापति कोइरालाले सभामा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । गण्डकी प्रदेशमा रहेका चारवटा समिति मध्य पहिलो पटक अर्थ तथा विकास समितिले सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो ।