प्रधानमन्त्रीले जे भन्नुभो त्यही आधिकारिक हो : प्रचण्ड

काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति नै आधिकारिक भएको बताएका छन् ।

तीन दिने भारत भ्रमण सकेर आइतबार दिउँसो स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीजीले जे भन्नुभएको छ, त्यही आधिकारिक हो । मलाई त्यो भन्ने ‘अथ्योरिटी’ पनि छैन, मैले त्यसो भनेको पनि होइन ।’

प्रचण्डले भारत भ्रमण जानुअघि आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग मन्त्री हेरफेर हुनसक्ने संकेत गरेका थिए । तर, उनी भारतमा रहेका बेला प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल मन्त्रीहरु हेरफेर हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेका थिए ।

आइतबार अध्यक्ष प्रचण्डले आफूले पनि कार्यसम्पादन राम्रो नगरेको खण्डमा मन्त्रीहरु हेरफेर हुन सक्ने, कारवाही हुन सक्ने भनेको तर, अहिले नै हुन्छ नभनेको प्रष्टिकरण दिएका छन् । आफ्नो भारत भ्रमण समग्रमा फलदायी रहेको उनको दाबी छ । यसअघि फरक पार्टीको अध्यक्ष, प्रधानमन्त्रीको हैसियतमा आफूले पटक–पटक भारत भ्रमण गरेको स्मरण गर्दै उनले दुई तिहाई प्राप्त पार्टीको अध्यक्षको हैसियतले भने आफ्नो पहिलो विदेश भ्रमण रहेको बताए ।

उनले भारतमा आफूलाई निकै सम्मान मिलेको पनि बताए । ‘दुई तिहाईप्राप्त सरकार सञ्चालन गरिरहेको पार्टीको अध्यक्षलाई गर्ने सम्मान मैले पाएँ, एयरपोर्टदेखि नै स्वागत, सत्कार राम्रो गरियो’, प्रचण्डले भने ।

भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेका थिए । भेटका क्रममा सबैले समृद्ध नेपालको चहाना व्यक्त गरेको अध्यक्ष दाहालले बताए । उनले भारतीय पक्षसँग नेपालको विकास र समृद्धीमा गर्न सक्ने सहकार्यका विषयमा कुराकानी भएको जानकारी दिए ।

सञ्चारकर्मीले सोधेको एक फरक प्रसंगमा उनले वृद्धभत्ता नबढाएको भनेर देशैभरबाट गुनासो आएपछि पुरक बजेट ल्याउने कि भन्ने छलफल भएको बताए । ‘जरुरी पर्‍यो भने पुरक बजेट ल्याउनुपर्छ भन्ने छलफल भएको हो’, अध्यक्ष दाहालले भने, ‘देशैभर म जहाँ गएँ त्यहाँ वृद्धभत्ता नबढाएको भन्ने गुनासो सुनियो, त्यही भएर वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यस्था त गर्न पर्छ भन्ने सन्दर्भमा यो कुरा आएको हो । अहिले नै निर्णय भइसकेको छैन ।’