११ वटै वडामा नेकपाको चुनाव परिचालन कमिटी उद्घाटन

पोखरा, २४ कात्तिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चनावी प्रचार अभियानलाई तीव्र पारेको छ । नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ ।

पोखरा महानगरका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३, मा चुनाव परिचालन वडा कमिटीको कार्यालय स्थापना गरेको नेकपा चुनाव प्रचार प्रचार उपसमितिका संयोजक त्रिभुवन पौडेलले जानकारी दिए । उनका अनुसार आइतबार बिहान चुनाव हुने सबै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरिएको हो । वडा कार्यालय स्थापनासँगै चुनावी प्रचार अभियान टोल÷टोलमा पुग्ने नेकपाले बताएको छ । नेकपाले चुनाव लक्षित गरेर गत कात्तिक २२ पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रलम गरिसकेको छ

रवीन्द्र अधिकारीले तीन पटक चुनाव जितेर ह्याट्रिक गरेको उक्त क्षेत्रमा त्यही विरासतलाई कायम गर्ने गरी नेकपा चुनावी प्रचार अभियानमा जुटेको छ । गत २०७४ को प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजित गरेका थिए ।

गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जितको मतान्तरलाई अझ बढाउने गरी चुनावी रणनीति बनाएर नेकपा चुनावमा होमिएको छ । उदीयमान नेता गुमाउनुको शोकलाई शक्तिमा बदलेर अधिकारीको अधुरो सपना पूरा गर्न उनको उत्तराधिकारीको रुपमा पत्नी विद्यालाई चुनावी मैदानमा उतारेर मतान्तरलाई १३ हजार पु¥याउने लक्ष्य लिएर चुनावी प्रचारमा जुटेको छ ।