महिला क्रिकेटमा श्रीलंकासँग नेपाल पराजित

२० मंसिर २०७६, पोखरा

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना तुहिएको छ । शुक्रबार श्रीलंकाको टोलीसँग पराजित भएसँगै स्वर्ण जित्ने नेपालको सपना अधुरो रह्यो । पोखरा क्रिकेट रंगशालामा भएको खेलमा ११९ रनको लक्ष्य पछ्याएको नेपाल ७७ रनमात्र बनाउन सक्यो । नेपाल श्रीलंकासंग ४१ रनले पराजित भएको हो ।

११९ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाए पनि अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका ३ ब्याट्सवुमन खाता नखोली आउट भए ।

उपकप्तान सीता राना मगर, इन्दु बर्मा र डली भट्टले खाता खोल्न सकेनन् । ओपनर काजल श्रेष्ठ २१ बल खेल्दै ८ रनमात्र गराउन सकिन् । यस्तै सोनु खड्का १ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भइन् । नेपालका लागि करुना भण्डारीले १२ रन बनाइन् भने कबिता कुँवरले १३ रन बनाउन सकिन् । अन्तिममा ब्याटिङ गर्न आएका अन्जली चन्द र सरस्वती चौधरीले समान २ २ रन बनाउन सके ।

श्रीलंकाका लागि सचिनी निसानसालाले सर्वाधिक ३ विकेट हात पारिन् । यस्तै सत्या सन्दिपानिले २ विकेट लिँदा माल्सा रनथुँगाले १ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाल ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । उसका लागि लिहिनी अप्सराले सर्वाधिक ३७ रन बनाइन् । यस्तै जनधी अमलीले ३५ रन बनाइन् । श्रीलंकाका लागि सत्या सन्दिपानीले २२ रन बनाउँदा हर्सियाले १६ रन बनाउन सकिन् । अरुको प्रदर्शन उल्लेख्य रहन सकेन ।

नेपालका लागि सोनु खड्का र सरस्वती चौधरीले समान २ २ विकेट लिए भने अन्जली चन्दले १ विकेट लिइन् । नेपाल आज पराजित भएसँगै नेपालले अब कास्यका लागि माल्दिभ्ससँग भोली शनिबार खेल्ने भएको छ ।