पोखरामा शुक्रबार द फेशन सो हुने, मिस नेपाल श्रृङखला खतिवडा मुख्य आकर्षण

पोखरा, ३ पौष

पोखरामा शुक्रबार हुने द फेशन सोको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले यसको तयारी पुरा भएको जनाएको हो । कला, संगीत र फेशनमा पोखरा बढाउन फेशन सो को आयोजना गर्न लागेको इभेन्ट म्यानेजर सनिज गुरुङ्गले बताए । ‘पोखरामा फेशन प्रति लगाव राख्ने व्यक्ति त छन् तर फेशनमार्फत पोखरालाई चिनारी दिने इभेन्टहरु भने भइरहेको छैन । यसै सन्दर्भमा पोखरालाई फेशनको शहरका रुपमा चिनाउन हामीले शुक्रवार द फेशन शो हुने नामक कार्यक्रम गर्न लागेका हौं ।’ उनले भने ।

वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको फेशन सोमा पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागिता जनाउने छन् । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा , सुपर मोडेल सविता कार्की, सृजना रेग्मी रहेका छन् । उनीहरु यस कार्यक्रममा सो स्टपर रहेको जनाएको छ ।

फेशन शोमा पोखराका मोडेलहरु महिला तर्फ काशु गुरुङ्ग, सिम्रन गौचन, सिम्रन क्षेत्री, सबनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अक्स्मी क्षेत्री, कृतिका भुजेल र गंगा ग्याबक रहेका छन् । यस्तै पुरुष मोडेलहरुमा नविन लिम्बु, हिंमाशु टि.बी राना, तोर्डन मगर, इशान गुरुङ्ग र जेनिथ गुरुङ्ग रहेका छन् ।

मोडेलहरुले काठमाण्डौका २ तथा पोखराका २ डिजाइनरले तयार पारेको पोशाकमा र्याम्प वक गर्ने छन् । डिजाइनरहरु तेन्जिन भुटिया, मनिष राई, रचयिता माकाजु र सन्देशा राईले सोका पोशाक डिजाइन गरेका छन् ।

शुक्रबार पौष ४ गते इलेमेण्ट रेष्ट्रो एण्ड बार खहरे लेकसाइडमा यो कार्यक्रम हुनेछ । साँझ ५ बजेबाट शुरु हुने कार्यक्रमका लागि टिकट दर ३ हजार र २ हजार तोकिएको तथा उक्त टिकटमा प्रवेश तथा डिनरको व्यवस्था गरिएको कार्यक्रम संयोजक रविन पराजुलीले बताए । ‘४ वटा सिक्वेन्समा हुने फेशन सोमा आकर्षक नृत्य पनि समेटेका छौं। फेशन सो को मुख्य उद्देश्य भनेको पोखराको फेशन ट्रेण्ड तथा फेशन सोहरुलाई अझ स्तरिय बनाउनु नै रहेको छ’ उनले भने । कार्यक्रममा ४ सय दर्शकको अनुमान गरिएको छं । कार्यक्रमको मुख्य प्रायोजक सुजुकी बर्गम्यान टु ह्विलर्स रहेको छ ।