तमु ल्होसार तथा पुसे पन्ध्रमा गण्डकि प्रदेशमा सार्वजनिक बिदा

पौष ११/ पोखरा

गण्डकी प्रदेश सरकारले तमु ल्होसारको दिन सार्वजनिक विदा दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शुक्रबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिए । २४ लाख जनसंख्या रहेको गण्डकी प्रदेशमा ८.४ प्रतिशत गुरुङ छन् ।

सरकारले गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै सो समुदायले बिदा दिन माग गर्दै आएका थिए ।

तमु ल्होसारको दिन गण्डकी प्रदेशका ११ वटै जिल्लाका सरकारी कार्यालय, शैक्षिक संस्था बन्द रहने बताइएको छ ।