राजकुमारीको पेरिसको होटलबाट १० करोडको गहना चोरी भयो

साउदी अरबकी राजकुमारीको पेरिसको चर्चित होटल रिजबाट आठ लाख युरो करिब १० करोड रुपैयाँ को गहना हराएको छ । यसबारे पुलिसले सोमबार जानकारी दिएको हो ।

नाम नखुलाइएकी राजकुमारीले आफ्नो गहना शुक्रबार अपरान्ह हराएको बताएकी छिन् । कोठामा कुनै प्रकारको तोडफोड नभएको स्रोतले बताएको छ ।

रिजका प्रवक्ताले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।

आरोप प्रमाणित भए पेरिसको वेन्डोम इलाकामा बनेको यो अत्यधिक सुविधासम्पन्न होटलमा यस वर्ष चोरी भएको दोस्रो घटना हुनेछ । जनवरीमा पनि यहाँ लाखौंको गहना चोरी गर्ने कोसिस गरिएको थियो । यस मामलामा पुलिसले तीन चोरलाई होटलभित्र पक्राउ गरेका थिए । उनीहरुका दुई साथी स्कूटरमार्फत भागेका थिए । यद्यपी, लुटिएको गहना उनीहरुले होटलमा नै फ्याँकेका थिए ।

यो इलाकामा थुप्रै आलिशान बुटिक र गहना पसल छन् । यहाँ हतियारधारी चोरको निकै बिगबिगी छ । गत डिसेम्बरमा एक गहना पसलबाट केही चोरले ५५ लाख युरोका दुई हिरा र दुई औंठी चोरेका थिए । अक्टोबर सन् २०१६ मा रियालिटी टिभी स्टार किम कार्दासियन पनि रिज होटलभन्दा १० मिनेट पैदल दुरीमा लुटिएकी थिइन् । त्यतिबेला उनको करोडौंको गहना चोरिएको थियो ।